वनको डडेलो घरमा नआएसम्म
हामी
जीवन, जगत र समाजलाई
पैसासँग मोलतोल गरिरहन्छौँ।
हामीलाई
छिपछिपे माटो हिलो हुन्छ।
बजारको कचरा खाना हुन्छ।
घरको कचौरा देखाउन लाज लाग्छ।
मोटर टल्काउँदा इज्जत बढ्छ।
हिँडेर टहल्दा लाज लाग्छ।
बाजेका पालामा
कलकल पानी
कान्ला कान्ला खेत गरा कुलो कुलेसो
आदि इत्यादि गर्दै गर्दै
एकआपसमा जब्बर र नरम एकै साथ बन्दै
माटो मन समाज रसिलो बनाउँथ्यो।
बारी प्लटिङ गर्नु छ।
बाटो ढलान गर्नुछ।
जेसीबी विकास गर्नु छ।
अनि पानी कहाँ जाने?
जमिन केले भिजाउने?
पालुवा कसरी पलाओस?
सुख्खा
खण्डहर
हाम्रो भविष्य!


Post a Comment
Comments are moderated; and will only be published should they get the checks on anti-spam measures, and healthy online discussion.
You may also have some business-related queries. In such case, you can also contact me through the contact page.